नेपाल एयर होस्टेस विधामा ५५ जना दीक्षित

काठमाडौँ । नेपाल एयर होस्टेस एकेडेमीमा भर्ना भएका ५५ जना एयर होस्टेस आज दीक्षित भएका छन् । सो एकेडेमीमा अध्ययनरत १६, १७ र १८ वर्षका युवतीहरु दीक्षित भएका छन् । उनीहरुले प्रमाणपत्र पाएसँगै विमान परिचारिका बन्ने अवसर पनि खुलेको छ ।

सात महिनाको अथक प्रयासपछि उनीहरु विमान परिचारिकाको रोजगारीका लागि सक्षम बनेको सो एकेडेमीका निर्देशक रेजिना तुलाधरले जानकारी दिएका छन् । विमान परिचारिकालाई ग्ल्यामर र आर्कषक पेशा मानिन्छ । राष्ट्रिय उडानमा मासिक न्यूनतम रु ३० हजारदेखि ८० हजारसम्म कमाइ हुन्छ भने अन्तर्राष्ट्रिय उडानमा मासिक १ लाखदेखि २ लाख रुपैयाँसम्म पनि कमाइ हुने जनाइएको छ ।

दीक्षान्त समारोहमा एकेडेमीका मुख्य प्रशिक्षक एवं नेपाल वायुसेवा निगमका सेवानिवृत्त वरिष्ठ एयर होस्टेस गौरी कला थापा, भारतीय मूलकी अन्तर्राष्ट्रिय विमान परिचारिका सञ्चिता नेपाली, व्यक्तित्व प्रशिक्षक रोजिन शाक्य तथा संस्थाका अध्यक्ष प्रदीपराज वन्तले शुभकामना दिएको थियो ।