सर्वोच्चले उल्ट्यायो पूर्व डीआईजी कोइरालाको सजाय घटाउने फैसला, २० वर्ष जेल बस्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले श्रीमतीको हत्या गरेर जेल परेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उल्ट्याएको छ । डीआईजी कोइरालाले ९ वर्ष अघि पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएका थिए ।

सो घटनालाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले गरेको फैसला सर्वोच्चको पूर्ण इजलासले उल्टाएको छ । प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको जन्मकैदलाई घटाएर ८ वर्ष कायम गरिदिएको थियो ।

बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीशहरु टंक मोक्तान र कुमार चुडालको इजलासले सो निर्णयलाई उल्टाएर २० वर्ष नै कायम गरिदिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिएका छन् । कोइरालाले अब कैद भुक्तानका लागि थप ११ वर्ष जेल बस्नुपर्नेछ ।