नीति तथा कार्यक्रममाथिको छलफल सुरु, प्रमुख प्रतिपक्षी दलका नेता ओली सम्बोधन गर्दै

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम स्वादविहीन भएको टिप्पणी गरेका छन् ।

ओलीले कार्यक्रममा अधिकांश विषय अमूर्त रहेको भन्दै राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गरिएको भनी सरकारको नीति तथा कार्यक्रमको आलोचना गरे । उनले हालै सम्पन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन नसकेको आरोप पनि लगाए । आलीले लोकतन्त्रको आधारभूत मूल्य र मान्यताको रुपमा रहेको निर्वाचन भयरहितरुपमा सम्पन्न हुन नसकेकामा गुनासो गरेका छन् ।

उनले राजनीतिक संवादहीनतामा राखिएको, राष्ट्रिय महत्वका विषयमा प्रतिपक्षीसँग संवाद नगरिएको आरोप लगाउँदै यस विषयमा सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनले परराष्ट्र नीतिलाई आवेगपूर्ण र सत्तास्वार्थमा सङ्कुचित बनाइएको आक्षेप समेत लगाएका छन् ।