गण्डकी प्रदेश सरकारद्वारा नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड

काठमाडौँ । १५र्औ गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष समारोहमा व्यवस्था परिवर्तनसँगै नागरिकको जीवनस्तर परिवर्तन हुनुपर्नेमा जोड दिइएको छ । नेपाली जनताको लामो संघर्षको उपलब्धिस्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र केबल शासनप्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीकारुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने बताएका छन् । गणतन्त्र नेपाल घोषणा भएपछि सुशासन, द्रुततर आर्थिक, सामाजिक विकासलगायत सबै क्षेत्रमा सुन्दर, समृद्ध हुन्छ भन्ने आम नेपालीको अपेक्षा आंशिकरुपमा सम्बोधन भए पनि त्यो पूर्ण हुन नसकेको प्रमुख गुरुङले बताएका छन् ।

जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तन स्वयं दिगो र संस्थागत हुन पनि सक्दैन, उनले भने । संघर्षका समयमा जनतासामु गरेका प्रतिवद्धता तथा वीर अमर शहीदका सपना साकार पार्नु सबैको सामूहिक दायित्व र कर्तव्य बनेको बताउँदै उनले हिजो संघर्षका दिनमा जस्तै हामी सबैबीच एकता, सहकार्य र सहमति हुनु आवश्यक भएकोमा जोड दिएका छन् ।

हालै मुलुकमा आम जनताको उत्साहपूर्ण सहभागितामा स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु सबैका निमित्त खुशीको विषय भएको उल्लेख गर्दै उहाँले हालै सम्पन्न स्थानीय तहको निर्वाचनसँगै अब हुन गईरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको जगलाई संस्थागत र थप सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । गणतन्त्र दिवसले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने गुरुङले कामना समेत गरेका छन् ।

कार्यक्रममा प्रदेशमा उत्कृष्ट काम गर्ने कार्यालयसँगै विभिन्न कर्मचारीलाई पुरस्कृत गरिएको थियो । समारोहअघि पोखराको सहिद चोकस्थित पार्कमा माल्यार्पण गरि विभिन्न झाँकीसहितको ¥याली आयोजना गरिएको थियो ।