गणतन्त्र दिवसको अवसरमा १८ कैदीले पाए आममाफी

काठमाडौँ । पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र ३ जना महिलाले आममाफी पाएका हुन् ।

कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका पाँच, चोरी मुद्दाका ५ र बहुविवाहका ४ जना रहेका छन् । उनीहरुमध्ये १५ जना ५० प्रतिशत कैद भुक्तान गरेका र ३ जना ४० प्रतिशत कैद भुक्तान गरेका रहेका छन् ।

आचार्यका अनुसार असल चालचलन भएकालाई आममाफीका लागि सिफारिस गर्ने गरिन्छ । विभिन्न अवसर पारेर गरिने सिफारिसमा राष्ट्रपतिमार्फत आममाफी दिने प्रचलन रहेको छ ।

यस कारागारमा २ आश्रित बालिकासहित ७ सय ४१ कैदी बन्दी रहेका छन् । दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा हाल ६ सय ८७ र २५ को क्षमता रहेको महिला बन्दी गृहमा ५२ जना रहेका छन् ।