पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने

काठमाडौँ । सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको वजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने भएको छ ।

रामपुर सहरलाई नेपालको मौलिकशैली र विशेषता झल्कने संरचनासहितको नयाँ सहरको रुपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले बताएका छन् । केन्द्रीय कार्यक्रमको बजेटमा रामपुरलाई सम्बोधन गर्दै नयाँ सहरको रुपमा विकास गर्ने कार्यक्रमले यहाँका स्थानीयवासीमा खुसीयाली छाएको छ ।

रामपुरमा पूर्वाधार विकासका काम अगाडि बढ्दै गर्दा पछिल्लो समय पर्यटकीयस्थल बन्दै गएको छ । कालीगण्डकी नदी र यसको करिडोरसँग जोडिएको रामपुर भौगोलिक हिसाबले केही भाग डाँडाभेग र समथरभूमि रहेको रमणीय ठाउँ हो ।

नेपाल सरकारले २०७१ वैशाख २५ गते घोषणा गरेको ७२ वटा नगरपालिकामध्येको एक विविध सम्भावना बोकेको र भौगोलिक हिसाबले ठूलो नगरपालिका पनि हो । साविकका गाँैडाकोट, दर्छा, खालीवन, रामपुर र गेझा गाविस समेटिएको यस नगरमा दश वटा वडा रहेका छन् ।

२०७६ मा नगरद्वारा गरिएको घरधुरी सर्वेक्षण अनुसार करिब ४२ हजार जनसङ्ख्या भए पनि विभिन्न पेसा तथा व्यवसाय गरी बसोबास गर्नेको करिब ६० हजार रहेको अनुमान छ । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा पर्ने यस नगरपालिका १ सय २३ दशलमव ५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

विविध भाषाभाषी, रहनसहन, ऐतिहासिक तथा धार्मिक, पर्यटनका हिसाबले रामपुर नगरलाई नमूना सहरका रुपमा विकास गर्ने नगरप्रमुख रमणबहादुर थापाले बताएका छन् । बजेट भाषणमार्फत आगामी आर्थिक वर्षको कार्यक्रममा पाल्पा बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण कार्य सुरु गरिने समावेश गरिएको छ ।

नीजि क्षेत्रमार्फत चितवन रामपुर बुटवल र चितवन–रामपुर–पोखरा दु्रतमार्ग बनाउन लगानी बोर्डमार्फत प्रक्रिया थाल्ने बजेटमा उल्लेख गरेको छ । कालीगण्डकी तिनाउँ डाइभर्सन आयोजनाको अध्ययन अगाडि बढाइने भएको छ । सरकारले कालीगण्डकी करिडोर, कोसी करिडोर, कर्णाली करिडोरलाई रु ४ अर्ब बजेट छुट्टाइएको छ ।