नुनढाकीमा पहिराले पुरिएर दुई मजदुरको मृत्यु

काठमाडौँ । सङ्खुवासभाको चैनपुर नगरपालिका १ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको चौदण्डीगढी नगरपालिका ६ का २० वर्षीय हिमबहादुर मगर र सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राईरहेका छन् ।

चैनपुर नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिएका छन् ।

आज बिहान ११ बजे सडकखण्डमा तारको जाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराले पुरिएर उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताएका छन् ।

चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ ।