गीताको शव उठ्यो, स्थानीय सरकारले दाहसंस्कार गर्ने

काठमाडौँ । पूर्वी चितवनको खैरहनी नगरपालिका १० की गीता माझीको शव उठाएको छ । श्रीमान्‍ले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएकी उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

गीताको शव पोस्टमार्टमपछि खैरहनी नगरपालिकाले उठाएको हो । उनको दाहसंस्कार पनि नगरपालिकाले नै गर्ने भएको छ । शवलाई अहिले उनको घरमा लगिएको छ । शवको जिम्मा लिने व्यक्ति नभएपछि स्थानीय सरकारले दाहसंस्कार गर्ने गरी जिम्मा लिएको खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेतीले जानकारी दिइन् ।

आरोपित रामचन्द्र माझीविरुद्ध उनकै छोरी पुष्पा माझीले उजुरी दर्ता गरेकी छन् । हिरासतमा रहेका रामचन्द्रविरुद्ध प्रहरीले यसअघि नै ज्यानसम्बन्धी र बलात्कारको मुद्दा दर्ता गरी अनुसन्धान गरिरहे प्रहरी कार्यलयले जानकारी दिएको छ । आमाको घटना भएको पाँच दिनपछि छोरीले बाबुविरुद्ध लिखित उजुरी दिएकी छन् । किरिया खर्चका लागि जिल्ला बाल कल्याण समितिले १० हजार, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले १५ हजार, बागमती प्रदेश सांसद रीना गुरुङले ५ हजार रुपैयाँ र विभिन्न व्यक्ति तथा संस्थाले स्वैच्छिक रूपमा ३१ हजार रुपैयाँ उपमेयर उप्रेतीमार्फत छोरी पुष्पा माझीलाई हस्तान्तरण गरेका छन् ।

न्यायिक प्रक्रिया अघि बढ्दै जाँदा बाबुविरुद्ध उजुरी दिने छोरीको मन फेरिन सक्ने भएकाले चितवन प्रहरीले अधिकारकर्मीहरूको सहयोग लिएको छ । बयान र साक्षीलगायतको सहयोगका लागि चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हुन् । एसपी अधिकारीले भने, ‘महिलाका संवेदनशील घटनामा पीडित वा पीडित पक्षका व्यक्ति होस्टाइल भइदिँदा न्यायिक प्रक्रियामा समस्या आउने भएकाले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हौँ ।