विगत १० महिना भित्र बलात्कार घटनामा ८६ जना पक्राउ, २० अभियुक्त अझै फरार

काठमाडौँ । झापा जिल्लामा विगत १० महिना भित्र बलात्कारका १ सय ६ घटनामा प्रहरीले ८६ जना अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । बलात्कारका घटनाका २० अभियुक्त अझै फरार छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८/७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जनामा जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्राउ परिसकेको तथ्याङ्क रहेको छ । सोही अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन् ।

बाल यौन दुराचारका १७ र जबर्जस्ती करणी उद्योगका १० अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिएका छन् । बलात्कृत हुनेमा ४ वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासमेत रहेका छन् ।

पछिल्लो समय बाल यौन दुराचारका घटना बढेका छन् । अधिकांश बलात्कारका घटनामा प्रायः परिवार, नातागोता, शिक्षक र छरछिमेकी अभियुक्त पाइएको पाठकले बताएका छन् । अधिकांश घटना नजिकका आफन्तबाट भएका देखिन्छन्”, उनले भने , यस्ता आपराधिक क्रियाकलापमा पढेलेखेका र समाजमा पहिचान बनाएका व्यक्तिको समेत संलग्नता पाइएको छ ।