पशुपति धर्मशालामा बतास समुहले होटल सञ्चालन गर्न नपाउने

काठमाडौं । बतास समुहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न रोक लगाएको छ । जिल्ला अदालत काठमाडौँले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिनेगरी भएको अन्तरकालीन आदेश बदर गरेको छ ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि गत चैत २५ गते बतास समूहका पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो । यो आदेशसँगै उक्त समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने भएको छ ।

करार उल्लङ्घन भई करार नै बदर भइसकेको अवस्थामा करारको परिपालना गराउन एकपक्ष बाध्य हुनसक्ने कुरा देखिदैन । आदेशमा भनिएको छ, तसर्थ प्रतिवादी पक्षबाट करार भङ्ग गरिसकिएको स्थितिलाई बादी पक्ष समेतले स्वीकार गरी रहेको पाइन्छ, तसर्थ भङ्ग भइसकेको करारलाई यथावत् पालना गर्न मिल्ने अवस्था कानूनत देखिएन ।

पशुपति क्षेत्र विकास कोषले यसअघि करार भङ्ग भएको उल्लेख गर्दै होटल सञ्चालन गर्न नदिएपछि बतास समूहले अदालतमा मुद्दा दिएको थियो । अदालतले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो । उक्त अन्तरकालीन आदेशविरुद्ध कोषले दिएको निवेदनको सुनुवाइ गर्दै आज न्यायाधीश कोष र बतास समूहबीचको करार भङ्ग भइसकेकाले पुनःहोटल सञ्चालन गर्न दिनु कानुनबमोजिम नहुने उल्लेख गर्दैै अन्तरकालीन आदेश बदर गरिदिएको छ ।