प्याकेजिङ’ खाद्यवस्तुबारे विद्यालयमा बालबालिकालाई सचेतना

काठमडौँ । बागलुङका विद्यालयमा बालबालिकालाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुबाट स्वास्थ्यमा हुने दीर्घकालीन असरबारे सचेत गराइने भएको छ । विद्यालयमै पुगेर ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुको लेबल विवरण तथा खाद्य स्वच्छतासम्बन्धी जानकारी गराइने भएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले जानकारी गराएको छ ।

आउँदो जेठ २४ गते मनाइने चौधौँ खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित विविध कार्यक्रमअन्तर्गत विद्यालय तहका विद्यार्थीलाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुसम्बन्धी सचेतनालाई प्राथमिकतामा राखेको छ ।

‘स्वच्छता सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मनाउन लागिएको दिवसमा उपभोक्ताको खाद्य स्वच्छतासम्बन्धी अधिकार प्रत्याभूति गर्न बालबालिकालाई सचेत गराउन थालिएको डिभिजन प्रमुख सौरभ श्रेष्ठले बताएका छन् । हामीले यसअघि पनि सदरमुकामा रहेका केही विद्यालयमा खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालन गरीसकेका छौँ”, उनले भने विद्यालयको वातावरण हेरेर दिवसको अवसरमा केही विद्यालयका बालबालिकामा सचेतनामूलक कार्यक्रम लैजाने यस पटकको योजना छ ।” बालबालिकालाई सचेत गराउँदा भावी पुस्तामा खाद्य स्वच्छतासम्बन्धी चेतनाको विकास हुने र वर्तमानमा अस्वस्थ्य खाद्यान्नको प्रयोगमा कमी आउने उनको भनाइ रहेका छ ।

विद्यालयमा दिवा खाजाको रुपमा प्रयोग हुने ‘प्याकेजिङ’ खानाको लेबल तथा म्याद र त्यसमा प्रयोग भएका खाद्यवस्तुको विषयमा जानकारीको अभावमा बालबालिकाले अखाद्य वस्तु प्रयोग गरिरहेका कतिपय घटना बेलाबेलामा बाहिरिने गरेका छन् । सरकारले कक्षा ५ सम्मका बालबालिकाका लागि दिवा खाजाको व्यवस्था गरेको भए पनि बागलुङका अधिकांश विद्यालयले खाजाको व्यवस्था नगरी प्रतिविद्यार्थी खाजाबापत प्राप्त हुने रकम अभिभावकको जिम्मा लगाउने गरेका छन् ।

डिभिजन कार्यालयले जेठ १९ गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरेर खाद्य स्वच्छता दिवस मनाइरहेको छ । सप्ताहअन्तर्गत विद्यालयमा सचेतना कार्यक्रमका साथै होटल तथा रेष्टुराँ अनुगमन गर्ने, बजार तथा खाद्य उद्योग अनुगमन गर्ने खाद्यान्नमा प्रयोग हुने रङको विषयमा सचेनतामूलक कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताएका छन् ।