अविरल आएको वर्षासँगै बाढी र पहिरोले घर, पुल र हजारौं रोपनी खेत बगायो

काठमाडौँ । बिहिबार रातभरी आएकाको अविरल वर्षापछिको बाढी र पहिरोले गोरखाका विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ। पालुङ्टार नगरपालिका वडा नं. ६ मा एक व्यक्तिको घर पहिरोले बगाएको छ। वडा नं. ९ मा मोटरेबल पुल र हजारौँ रोपनी खेत बगाएको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिइएका छन् ।

पालुङटार ६ कल्लेरीमा बाढी र पहिरोले स्थानीय केशरबहादुर थापाको घर बगाएको छ। घरबासविहीन भएपछि थापाको परिबार नजिकै त्रिपाल टाँगेर बसेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पालुङ्टार ८ घर पहिरोले पुरै क्षतिग्रस्त भएको छ । सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति राना लगायतको घरमा पहिरोले क्षति पुर्‍याएको प्रहरीको भनाइ छ।

त्यस्तै छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिरोले चारघर उच्च जोखिममा रहेको वडाअध्यक्ष चेतबहादुर गुरुङले जानकारी गराएको छ । बाढी र पहिरोले उच्च जोखिममा परेका जगतबहादुर गुरुङ, रञ्जना गुरुङ, टेकबहादुर गुरुङ र सोमबहादुर गुरुङको घर रहेको उनले बताएका छन् ।

पालुङ्टार ९ जोगीबेशीको राममाया कुँबरको घर स्थानीय खहरेखोलाले क्षतिग्रस्त बनाएको छ। उनको परिबार पुरानो बस्तीस्थित घरमा सरेको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिएका छन् । पाण्डेका अनुसार स्थानीय चुतीखोलाको बाढीले सेराबजार उच्च जोखिममा रहेको छ। सो खोलाको बाढीले जोगीबेशीदेखि विर्दीसम्मको करिब ३५ ससय रोपनी खेत बाढीले बगाएको उनले बताए। भित्र्याउने बेला भएको बर्खेधान जुडीधान र रोपाइँको तयारी भइरहेको फाँट बाढीले बगाएपछि किसान चिन्तित बनेका छन्।

सिरानचोक गाउँपालिका वडा नं. ७ र ८ स्थित बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अबरुद्ध भएको प्रहरी कार्यालयले जानकारी गराएको छ । कानटारमा झरेको पहिरोले आँबुखैरेनी मनकामना सडक पनि अबरुद्ध रहेको प्रहरीले जानकारी दिइएको छ।