नेप्से परिसूचकको पहिरो थामिएन, आज पनि दोहोरो अङ्कले ओरालो

काठमाडौँ । आज पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.८२ अङ्कले नेप्से परिसूचक ओरालो लागेर २ हजार ३२.३४ मा कायम भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२७ अङ्कले कमी आई ३८९.९८ मा झरेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम अर्ब पनि पुग्न सकेको छैन् । कूल २ सय ३० कम्पनीको २९ लाख २० हजार ७ सय ५ कित्ता शेयर रु ९९ करोड ८६ लाख ७४ हजार २ सय ६२ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । त्यसमा बैंकिङ ११.०७, व्यापार १५.७८, होटल तथा पर्यटन ३६.०१, विकास बैंक १६.७३, जलविद्युत् ५.२२, वित्त १७.२८, निर्जीवन बीमा १०२.१९, उत्पादन ५१.५, अन्य १.५५, लघुवित्त २८.०२, जीवन बीमा १३८.१२, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.९२ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका आधारमा सानिमा बैंक शीर्ष स्थानमा रहन सफल भएको छ । सो बैंकको ९ करोड १ लाख ६१ हजार ५ सय ७४ बराबरको कारोबार भएको छ । उपकार लघुवित्त ५ करोड ६३ लाख ६४ हजार, सिभिल बैंक ५ करोड ३७ लाख, बैंक अफ काठमाडौँ ४ करोड ६९ लाख १४ हजार ७ सय १३ र सेञ्चुरी बैंक २ करोड ८३ लाख ९६ हजार ९ सय ३२ बराबरको कारोबार भई शीर्ष पाँच स्थान भित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार बलेफी हाइड्रोपावर ९.९९, ग्रीन भेञ्चर्स लिमिटेड ९.९८, युनिलिभर नेपाल ४.१०, आँधीखोला लघुवित्त ४.०२ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ३.८१ प्रतिशतले कमाएका छन् । त्यस्तै, मानुषी लघुवित्त ५.४०, एनएमबी ९५०० ५.२८, ओरियन्टल होटल ५.२०, बुद्धभूमि नेपाल हाइड्रोपावर ५.०६ र उपकार लघुवित्तका लगानीकर्ताले ४.५१ प्रतिशतले गुमाएका छन् ।