अध्यक्ष यादवविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता

काठमाडौँ । रौतहट जिल्लाको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवसमेतले आर्थिक अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ ।

स्थानीय गढीमाई नगरपालिकासँग सेफ नेपाल, गौर, ५ रौतहटले लक्षित वर्गअन्तर्गत जनचेतनामूलक कार्यक्रम र महिला जनचेतना कार्यक्रम सञ्चालन गर्नेक्रममा १ लाख ७२ हजार २ सय ४० रुपियाँ हिनामिना गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार, अध्यक्ष यादवले नक्कली बिल भरपाई तयार गरी सरकारी सम्पत्ति बद्नियतपूर्वक हिनामिना गरी हानी नोक्सानी गरेको अभियोगमा भ्रष्टाचार निवारण ऐनअनुसार आरोपपत्र दर्ता गरिएको जानकारी गराएको छ ।