विपद् व्यवस्थापनको पूर्वतयारी, प्रतिकार्यमा गम्भीर भएर लाग्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न विषयगत निकाय एवं सुरक्षा अधिकारीहरुलाई निर्देशन दिइएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज बसेको १३औँ बैठकमा मन्त्री खाणले यो वर्षका लागि भएका तयारी, जनशक्तिको अवस्था एवं साधनस्रोतको विवरणसहितको विस्तृत कार्ययोजना आजै लिखितरुपमा मन्त्रालयमा पेश गर्न पनि निर्देशन दिएका छन् ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एकीकृत विकासमा विपद् सम्बन्धी विषयवस्तुलाई समावेश गरिनुपर्ने धारणा व्यक्त गरेकी छन् । मुख्यसचिव शङ्करदास बैरागीले उद्धार र राहतमा तलदेखि माथिसम्मका निकायबीच समन्वय तथा रणनीतिक स्थानमा पर्याप्तमात्रामा उपकरणको व्यवस्था गर्न आवश्यक रहेकामा जोड दिए ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्रतिकार्यमा जिम्मेवार निकायको आपत्कालीन सम्पर्क नम्बर सर्वसाधरणसम्म पुग्नेगरी सञ्चार गर्न सुझाव दिएका छन् । बैठकमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ लगायतका एजेण्डामा विस्तृत रुपमा छलफल भएको छ ।


विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी एवं नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिले विपद पूर्वतयारीको अवस्था तथा प्रतिकार्यको योजनाबारे जानकारी गराएका थिए ।