डिएपी आइसक्यो, युरिया मल असारको पहिलो सातामा ल्याउने

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ । १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो र बिक्रीकक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेशनले जानकारी गराएको छ ।

कर्पोरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मलसहित १ लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो । डिएपीमध्ये बाँकी ३ हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको जानकारी गराएको छ । कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेश झाले भने १७ हजार मेट्रिक टन अर्थात् ४ लाख बोरा डिएपी आफ्ना डिपो र बिक्री कक्षमार्फत वितरण गरिराखेका छौँ । बाँकी ३ हजार मेट्रिक टन पनि भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ ।

उनका अनुसार २२ हजार मेट्रिक टन अर्थात् ४ लाख ४० बोरा युरिया मल कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन बताए । विभागीय प्रबन्धक झाले भने २२ हजार मेट्रिक टन युरिया कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्नेछ । स्वेदेश आउनेबित्तिकै डिपो÷बिक्रीकक्षमार्फत बिक्री वितरण सुरु हुन्छ ।

रोपाइँका समयमा देशभर रासायनिक मलको चरम अभाव भइरहँदा ती मलले किसानलाई केही भए पनि राहत मिल्ने अपेक्षा कर्पोरेशनले लिएको छ । कर्पोरेशनले इण्डोनेसियाबाट युरिया मल झिकाएको हो । विश्व कृषि बजारमा इण्डोनेसियाको मल सर्वोत्कृष्ट मानिन्छ । सरकारले यसपटक कर्पोरेशनलाई कूल १ लाख मेट्रिक टन मल आयात गर्न अनुदान दिएको थियो । यो कूल अनुदान आयातको ३० प्रतिशत हिस्सा मात्र हो । बाँकी अर्को सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको छ । कृषि मन्त्रालयले यसपटक मलमा मात्र करिब रु ११ अर्बभन्दा बढीको अनुदान प्रदान गरेको जानकारी दिएको छ ।

कर्पोरेशन सरकारले सुम्पिएको दायित्वलाई पूरा गर्न विभागीय प्रबन्धक झाले अग्रणी गरेको बताए । आयातित मलबाट थोरै भए पनि किसान लाभान्वित हुनेछन् । आगामी दिनमा सरकारले अनुदानको मलको कोटा थपिदिएमा यसको जिम्मेवारी बहन गर्न कर्पोरेशन सक्षम छ ।”

कृषि मन्त्रालयका अनुसार विशेषगरी यस मौसम सिजनका धान र मकै बालीका लागि मात्र दुई लाख मेट्रिक टन रासायनिक मल डिएपी र युरियाको आवश्यक पर्दछ भने वार्षिकरूपमा ५ लाख मेट्रिक टन मल खपत हुने गर्दछ । नेपालका ७० प्रतिशत बढी नागरिक कृषि पेशामा संलग्न रहेका छन् । नेपालको कूल ग्रार्हस्थ उत्पादन जिडीपीमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान रहेको छ । कृषि उत्पादनको मुख्य बाली धानबाली हो र जिडीपीमा धानको योगदान सात प्रतिशत छ । धानबालीलगायत अन्य बालीको उत्पादन वृद्धिका लागि रासायनिक मल नभइ हुँदैन ।

किसानलाई मल प्रदान गर्न खडा भएका सरकारी डिपो सबै मलविहीन भएका छन् । मनसुन सक्रिय सरकार निष्क्रिय बन्दा किसान मारमा परेको जनाउँदै सदनले आइतबार सरकारलाई तत्काल किसानलाई रासायनिक मल उपलब्ध गराउन निर्देशसमेत गरेको थियो ।