एमालेको अवरोधपछि संसद्‍ बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि मङ्गलबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बजेट निर्माण गलत प्रक्रियाबाट भएको आरोप लगाउदै प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् ।

सदनमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक महत्वको वक्तव्य दिएपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले धारणा राखेका थिए । त्यसपछि एमालेले बैठकमा अवरोध गरेको हो। सभामुख सापकोटाले बैठक अगाडि बढाउन पटकपटक अनुरोध गरे पनि एमाले सांसदले उठेर अवरोध गरेपछि मंगलबारको बैठक स्थगित भएको छ ।

बैठकमा एमालेको अवरोध कायमै रहेपछि कार्यसूचीमा रहेको बाँकी कार्यक्रम हटाएर सभामुख सापकोटाले बैठक स्थगित भएको जानकारी दिएका हुन् । सदनमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि उठेका प्रश्नको मन्त्री र प्रधानमन्त्रीले जवाफ दिनेक्रम चलिरहेको छ। अर्को बैठक असार १ गते बुधबार बिहान ११ बजे बस्ने भएको छ।