नेता क्षेत्रीको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न माग

काठमाडौँ । सांसद एकवाल मियाले बारा जिल्लामा नेकपा माओवादीका चित्रबहादुर क्षेत्रीको हत्याको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद मियाले घटना हेर्दा व्यक्तिगत रिसिइवीका कारण भएको जस्तो देखिएको हुनाले सत्य पत्ता लगाई ३८ वर्षीय क्षेत्रीको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

निजको हत्या घरभन्दा ५० र १०० मिटरमा मात्र भए पनि हत्या गरेर परिवारलाई जानकारी नगराई अस्पतालमा लगेर मृत घोषणा गरिएकोप्रति थप शङ्का उत्पन्न भएको र हत्यामा संलग्नको आशङ्कामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी गराएका छन् ।

त्यस्तै, सांसद प्रेम सुवालले भक्तपुरका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिएर दोस्रो र तेस्रो किस्ता नदिएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै तत्काल उपलब्ध गराउन माग गरे ।