काठमाडौँ । कपिलवस्तु र नवलपरासीमा भिक्षु र श्रामणेरहरुको वर्षावास सुरु भएको छ । बुद्ध धर्ममा असारदेखि असोज पूर्णिमा ३ महिनासम्मलाई वर्षावास भनिन्छ । धर्मावलम्बीको दोस्रो महत्त्वपूर्ण पर्व रहेको असार पूर्णिमाका दिन उनीहरुको ३ महिने वर्षावास सुरु भएको छ ।
धेरै विहार, मन्दिरमा बुधबार र थाइ मोनास्ट्रीमा बिहीबार पूजाआजा गरी सुरु गरेका छन् । थाइ मोनास्ट्रीमा थाइ परम्परा अनुसार बिहीबार विशेष पूजाआजा गरेर वर्षावास सुरु गरिएको मोनास्ट्री प्रमुख भिक्षु फ्रा बोधी विड्सले बताए । बौद्ध मुलुक थाइल्यान्डले वर्षावासलाई विशेष महत्त्व दिने हुँदा थाइ भिक्षुलाई वर्षावास बस्न निम्तो दिन ३० उपासक, उपासिका थाइल्यान्डबाट आएको उनले बताए ।
लुम्बिनीमा रहेका भिक्षु, भिक्षुणीलाई थाइ मोनास्ट्रीमा भोजन दान पनि गरिएको थियो । लुम्बिनीस्थित थाइ मोनास्ट्रीमा २ भिक्षुणीसहित ७, म्यानमारको गोल्डेन टेम्पलमा दुई म्यानमारका भिक्षु वर्षावास बसेका छन् ।
वर्षावास बस्ने भिक्षुले पुण्य सञ्चय हुने जनविश्वास छ । वर्षावासका बेला साँझ–बिहान ध्यानभाव बस्ने र परित्रान पाठ गर्ने गरिन्छन् । बौद्ध धर्मको मेरुदण्ड उपषोत विनय कर्म पालन गर्दा नजानेर भए गरेका त्रुटि कमजोरीबाट पाप नलागि क्षमादान पाउने हुँदा भिक्षु–भिक्षुणी र श्रामणेर वर्षावास बस्ने चलन छ ।
Add Comment