जयनन्दको अन्तिम चलचित्रको प्रिमियर शनिबार हुने

काठमाडौं । केही समयअघि दिवंगत वरिष्ठ कलाकार जयनन्द लामाको अभिनित अन्तिम चलचित्र ‘दार्बुङ’ गाग्री यही शनिबार राष्ट्रिय नाचघरमा प्रिमियर शो हुने भएको छ।

गत फागुनमा छायांकन सकिएको फिल्ममा जयनन्दले अपांगता भएका व्यक्तिको बुबाको अभिनय गरेका छन्। तामाङ भाषाको यो फिल्म सञ्जय अर्जुनले निर्देशन गरेका हुन्। फिल्ममा अपांगता भएका व्यक्तिको संवेदनालाई उतारिएको निर्देशक लामाले बताए। ‘अपांगता भएका व्यक्तिप्रति समाजले गर्ने पुरातन व्यवहारमा परिवर्तन ल्याउनुपर्छ भन्ने उद्देश्यले फिल्म बनाएका हौं’, निर्देशक सञ्जयले भने। ‘कथा मन पराएपछि उनी फिल्म खेल्न राजी भएका थिए ।निर्देशक सञ्जयले भने, ‘तर दुखद् कुरा उनलाई फिल्म सुटिङ सम्पन्न भएको केही समयमै गुमाउनु पर्‍यो।’

निरमाया घिसिङको कथा, लोसाङ लामा र इकेस लामाको संयुक्त निर्माणमा बनेको फिल्मको सहनिर्मातामा पर्खाइ मोक्तान छन्। थुप्रै तामाङ फिल्ममा नायकको भूमिका गरेका सञ्जय लामाले फिल्ममा अपांगता भएका व्यक्तिको चरित्रमा अभिनय गरेका छन्। तामाङ नायिका सुनिता लुङ्वा, कलाकारहरू मानबहादुर तामाङ, करेशा वाइवा, सुष्मिता तामाङ, मायादेवी मोक्तान, भुइसाल लामा, राम तामाङ, सुनमाया तामाङ सिर्जना गोले, डोमो ह्योल्मो, पेमा योञ्जन तामाङ, दीपेश लामा, रुदेन माझी, हिरन माझी, क्रिस्टल मगर, राजकुमार तामाङ, इन्द्रबहादुर स्याङतान, दोर्जे मोक्तानलगायतले अभिनय गरेका छन्।

सुरज श्रेष्ठको द्वन्द्वनिर्देशन रहेको फिल्ममा अर्जुन खड्काको सम्पादन, दीपक तामाङको मिक्सिङ, प्रज्ज्वल राउतको छायांकन, कर्साङ लामाको पाश्र्व संगीत छ। यस्तै चलचित्रको सम्झना लामा र बुद्ध ब्लोन तामाङले गीत लेखेका छन् भने कर्साङ लामाको संगीत र बबिता पाख्रिन, पूजा लामा, आकाश ब्लोन, कार्साङ लामाको गायन छ।