छापैछाप भेटियो मतपपत्रमा

काठमाडौँ । झापाको क्षेत्र नम्बर ५ मा मतगणना भइरहेको छ। मतगणनामा बसेका गणकदेखि लिएर राजनीतिक दलका प्रतिनिधि मतपत्रमा मतदाताले गरेको मतदानको शैली देखेर अचम्मित बनेका छन्। एकातिर अपेक्षा अनुसार मत नखसेको र अर्कोतिर बदर मत धेरै भएको देखिन्छ।

राजनीतिक दलको प्रतिनिधिको रुपमा रहेका शुकदेव लुइटेलका अनुसार मतपत्रमा हानिएका छाप हेर्दा अचम्मअचम्म देखिएको छ। कसैले मतपत्रमा भएका सबै चुनाव चिह्नमा मत हालेको र कसैले सबै चुनाव चिह्नमा हालेर पनि वरिपरि पटकपटक स्वस्तिक छाप पनि हानेको भेटिएको हो।

उनका अनुसार एउटै मतपत्रमा चारछाप, दूईवटा चुनाव चिह्नमा र उल्टोबाट समेत स्वस्तिक छाप हानेको पाइएको छ। दुईदेखि तीन प्रतिशतसम्म यस्तो प्रकारको मतपत्र रहने गरेको उनले बताए । कतिपयले आक्रोशले र कतिपयले मतदाता शिक्षाको कमीले यस्तो हानेको हुनसक्छ’, उनले भने।

राजनीतिक दलको प्रतिनिधिको रुपमा गणनास्थलमा रहेका रविन गुरुङका अनुसार ‘नो भोट’, ‘प्रदेश सरकार चाहिदैन’ लेखिएको र त्यसै खाली मतपत्र पनि गणनाको क्रममा धेरै पाइएको छ। ‘धेरै मतदाता शिक्षाको कमीका कारण मतपत्र बदर भएको र थोरै मतपत्रमा जनताले आक्रोश पोखेको जस्तो लाग्छ’, उनले बताए ।

निर्वाचन अधिकृतको कार्यालय झापा क्षेत्र नम्बर ५ मा मतगणनास्थलमा रहेका नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीले जानजान मतदाताले मतपत्र बदर गर्ने गरी आफ्नो प्रतिक्रिया दिएको देखिएको छ। ‘मतदान प्रक्रियाको विषयमा र मतदाता शिक्षा राजनीतिक दलले दिन नसक्दा पनि यस्तो भएको हुनसक्छ’, उनको भनाइ छ ।