भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका छन् ।

पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित नेपालमा भ्रष्टाचार कारण र निवारण पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा यो बढिरहेको बताए ।

प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचार विरुद्धको सङ्कल्प भएको व्यक्तिको खाँचो छ, उनले भने, यसको नियन्त्रण गर्न भावना र सङ्कल्प हुने, भ्रष्टाचारमुक्त परिवेश बनाउन सक्ने बताए । एउटा नेता र प्रधानमन्त्रीले चाहेर मात्रै यो नियन्त्रण सम्भव नभएको जिकिर गर्दै उनले राजनीति र प्रशासनिक निकायको माथिदेखि तलसम्म यसलाई नियन्त्रण गर्ने दृढता हुनुपर्ने बताएका छन् ।

भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई भाषण मात्र बनाउन नहुनेमा जोड दिँदै उनले स्पष्ट प्रतिबद्धता भए यसको नियन्त्रण सम्भव रहेको बताए । लोभलालच र राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार बढेको उनको भनाइ रहेको थियो ।

नेकपा एमालेका नेता युवराज ज्ञवालीले भ्रष्टाचार नियन्त्रण गर्न कठिन सङ्घर्षको जरुरी रहेको बताए । जरो गाडेर रहेको यो विकृतिको अन्त्य गर्न धेरै समय लाग्छ, अहिले हाम्रो सबैभन्दा ठूलो दुस्मन नै यही हो, उनले भने । उनले राजनीतिक, सांस्कृतिक र विकास निर्माणका क्षेत्रमा यसले गहिरो असर गरिरहेको छ भने ।

नेकपा माओवादी केन्द्रका नेत्री रेखा शर्माले समृद्धिको मुल बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै चाहेर नचाहेर पनि समाजमा यो जबरजस्त रहेको बताएका छन् । यसका कारण नेपाल समृद्धिको यात्रामा अघि बढ्न सकेको छैन, उनले भने, राजनीतिक परिवर्तन भए, तर बदलिँदो व्यवस्थाअनुसार राज्यसंयन्त्र नबदलिँदा भ्रष्टाचार बढेर गएको छ । यसको नियन्त्रण गर्न राजनीतिक नेतृत्वले अग्रसरता लिनुपर्ने उनको भनाइ रहेको छ ।

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भ्रष्टाचारका कारण राजनीतिक प्रणालीमाथि प्रश्न उठ्न थालेकामा चिन्ता व्यक्त गरे । प्रणालीले काम गर्ने व्यवस्था नहुँदासम्म यसको न्यूनीकरण हुन सक्दैन, उनले भने, राज्य संयन्त्रले नै यसलाई मलजल गरिरहेको छ, अब पारदर्शीता अपनाउनुपर्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले राजनीतिक नेतृत्वले नै मुलुकमा भएका विभिन्न समस्या समाधानमा विशेष ध्यान दिनुपर्ने बताए । भ्रष्टाचारको बहुआयामिक असरबाट सिङ्गो समाज नै प्रभावित बन्दै गएको जनाउँदै उहाँले यसविरुद्धको आवाज उठाउन सबै एकताबद्ध हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले विधिको शासन स्थापित भए मात्र भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन सम्भव भएको बताए । “यसको महामारीबाट हामी गुज्रिरहेका छौँ, उनले भने, अनियमितता क्षेत्रका समस्या पहिचान भइसकेको छ, अब सामाधानको दिशामा अगाडि जानुपर्छ, अब ‘एक्सनमा उत्रनु पर्छ ।