पुल बनाउने म्याद सकिएको दुई वर्षमा पनि निर्माण सम्पन्न भएन

धादिङ । धादिङ जिल्लाको गल्छी गाउँपालिकास्थित त्रिशूली नदीमा निर्माण भइरहेका दुईवटा मोटरेबल पुलको निर्माण सम्पन्न हुन सकेको छैन। पुल निर्माणका लागि तोकिएको म्याद गुज्रिएको दुई वर्ष नाघिसक्दा पनि पुल निर्माण सम्पन्न हुन नसकेको हो।

त्रिशूली नदीमाथिका दुईवटा पुल निर्माण गरिसक्नुपर्ने म्याद सकिएको २७ महिना भएको छ। निर्माण ढिलो हुनुमा निर्माण व्यवसायीले कोरोना महामारीलाई दोष देखाएर पन्छिँदै आएका छन्। पुल निर्माणको ठेक्का लगाउने निकायले भने १० प्रतिशतसम्म हर्जना तिर्नुपर्ने व्यवस्था रहेको बताउँदै आइरहेका छन्। काम लगाउने र काम गर्ने दुवैको ढिलासुस्तीको मारमा भने स्थानीय परेका छन्।

त्रिशूली नदीमा गल्छी गाउँपालिका–४, मासटार र वडा नं। २, केउरेनीटार जोड्ने पुल २३ करोड ७५ लाख रुपियाँको लागतमा निर्माण सम्झौता भएको थियो। २०७३ साल असार ३० गते तुदी, लामा र सपना कन्स्ट्रक्सनले संयुक्त रूपमा सम्झौता गरेका थिए। सम्झौताअनुसार २०७७ मङ्सिर १३ गते पुल निर्माण सम्पन्न सक्नुपर्ने थियो। पुलमा ८० मिटर स्टिलको भाग हुने गरी डिजाइन भएको थियो। सोहीअनुसार स्टिलको भाग जडान गरी रङरोगनसमेत भएको थियो। २०७८ वैशाख ४ गते शनिबार अपराह्न आएको हावाहुरीका कारण पुल ढल्यो।

यसले गर्दा कम्पनीलाई पाँच करोड रुपियाँ क्षति भएको निर्माण कम्पनीका हरि ढकाल बताउँछन् । क्षतिबापतको रकम आफूहरूले नपाएको निर्माण व्यवसायी ढकालको भनाइ छ। समयमा काम नसक्दा जरिवाना लगाउने सरकारले क्षतिपूर्ति पनि दिनुपर्ने उहाँको माग छ। बिमा कम्पनीले पनि बिमा रकम नदिएको ढकालले बताए ।

पछिल्लो पटक स्टिल पार्ट्स जडानको काम सकिँदै छ। स्टिल पार्ट्समा ढलान र तीन सय मिटर कच्ची सडक निर्माण गरिसकेपछि काम पूरा हुने भएकाले आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने निर्माण व्यवसायी ढकालले बताए ।

लुम्बिनी र प्रकृति कन्स्ट्रक्सनले संयुक्त रूपमा १८ करोड ६१ हजार ३९६ रुपियाँमा गल्छी गाउँपालिकाको गल्छी र घर्तीटार जोड्ने पुल निर्माणको सम्झौता गरेको थियो। २०७७ मङ्सिर २६ गते काम सम्पन्न गर्ने गरी २०७४ मङ्सिर २७ गते सम्झौता भएको थियो। विविध कारण देखाउँदै निर्माण ढिलो गरेको कम्पनीले अब असारसम्म काम सक्ने दाबी गर्न थालेको छ। पुलमा ८० मिटर स्टिल पार्ट्स जडान गर्ने काम अन्तिम चरणमा पुगेको र स्टिल पार्ट्समा ढलान गरी दायाँबायाँ मोटरबाटो बनाएपछि पुल निर्माण सम्पन्न हुने निर्माण व्यवसायी लङ्कु केसी बताउँछन् ।

स्थानीय बासिन्दा सरकारको नियमन गर्ने प्रक्रिया र निर्माण कम्पनीको कार्यशैलीप्रति आजित भएका छन्। स्थानीय श्रीराम खतिवडाले तोकिएको मिति पूरा भएर ३० महिना बितिसक्दा पनि पुल निर्माण सम्पन्न नभएकोमा चिन्ता व्यक्त गरे । पुल नबन्दा गाउँमा थोरै सामान ढुवानी गर्न पनि महँगो भाडा तिर्नु परेको छ। पुल निर्माण सम्पन्न भए दैनिक रूपमा तरकारी खेतबारीबाटै गाडीमार्फत कम लागतमा बजार पु¥याउन सकिने स्थानीयको भनाइ छ।

तरकारी खेतीका लागि प्रसिद्ध क्षेत्र मानिने दुवै क्षेत्रमा पुल निर्माण भई सञ्चालनमा आएपछि तीन हजार किसान परिवार प्रत्यक्ष लाभान्वित हुनेछन्। ती परिवारको अहिलेको तुलनामा ३० प्रतिशत वार्षिक आम्दानी बढाउन सक्ने अनुमान स्थानीयवासीको छ। – मुरारी अधिकारी