सेन्सर बोर्डले ल्यायो नयाँ नियम, अब फिल्म जाँच हुने बारे पूर्व जानकारी नदिइने

काठमाडौं । अबदेखि सेन्सर बोर्डका सदस्यलाई कुन फिल्मको जाँच हुन गइरहेको छ भन्ने पूर्व जानकारी नदिइने भएको छ । फिल्म सेन्सर बोर्डले मंगलबारदेखि यस्तो नयाँ नियम ल्याएको हो । हलभित्र पुगेपछि मात्र सेन्सर सदस्यले जाँच हुन लागेको फिल्मबारे थाहा पाउनेछन् ।

ठूला फिल्मको सेन्सरका क्रममा स्वयं बोर्डका पदाधिकारीले परिवार र साथीभाइ लैजानेदेखि सेन्सरको क्रममा सूचना चुहिन थालेपछि यसलाई कडाइ गर्न बोर्डले कसिलो नियम ल्याएको बुझिएको छ । मंगलबार बेलुका हुने सेन्सरका लागि सदस्यलाई फिल्मको नामबिनै बोलाइएको छ । उनीहरुलाई कुन फिल्मको सेन्सर हुँदैछ भन्ने जानकारी दिइएको छैन ।

आफूलाई सेन्सरका लागि बोलाइएको तर कुन फिल्मको हुँदैछ भनेर जानकारी नदिइएको सेन्सर बोर्डका एक सदस्यले जानकारी दिए । तर मंगलबार नेपाली फिल्म ‘परस्त्री’को सेन्सर गर्ने तयारी छ । परस्त्रीका निर्देशक सुरज पाण्डेले आफ्नो फिल्मको सेन्सर हुन लागेको बताए ।

यसअघि फिल्मको नाम भनेरै सदस्यलाई जाँच प्रक्रियामा बोलाउने नियम थियो । प्रतीक्षित फिल्मको सेन्सरको क्रममा वितरकदेखि सदस्यका परिवार र आफन्त पनि हलमा पुग्दा हल भरिने गरेको थियो । जसले गर्दा सेन्सर प्रक्रिया प्रभावित हुने गुनासो पनि आउने गरेको थियो । यसलाई लिएर लामो समयदेखि विरोध भइरहेको थियो । यसैबीच, सेन्सर बोर्डले सदस्यका लागि कसरी फिल्म हेर्ने भन्ने निर्देशनसहितको निर्देशिका पनि हालै ल्याएको छ ।