नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : सुमेरु सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सुमेरु सिटी अस्पतालमा कार्यरत एक जना चिकित्सक पक्राउ परेकी छिन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार बिहान काठमाडौंको गोठाटारबाट सुमेरु सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार डा. पुनमलाई निवासबाटै पक्राउ गरिएको हो । यो सँगै नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ । यसअघि नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा कांग्रेस सांसद डा. सुनिल शर्मालाई सीआईबीको टोलीले बिहीबार दिउँसो गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।

सीआईबीको टोलीले सोही प्रकरणमा डा. एलिना साह, डा. श्रद्धा शिल्पकार, डा.रामबाबु यादव, डा. अमित चौधरी, डा. रञ्जित यादव र डा. मनित चौधरीलाई पनि पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।