काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।
सीआईबीले आइतबार बिहान विध ल्याबका सञ्चालक भण्डारीसँग बयान लिएको हो । सीआईबी स्रोतका अनुसार भण्डारीको चिनियाँ सुन तस्करसँग सम्पर्क देखिएकाले बयान लिइएको हो । भण्डारीसँग बयान लिने क्रम अहिले पनि चलिरहेको सीआईबी स्रोतले जनाएको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीको अस्वाभाविक मोबाइल सम्पर्क र सन्देश आदान प्रदान गरेको भेटिएपछि सीआईबीले आइतबार बोलाएर बयान लिएको हो । सीआईबीले शनिबार साँझ नै बोलाएको थियो । तर, भण्डारी आइतबार बिहान साढे ९ बजे मात्रै सीआईबीमा उपस्थित भएका हुन् ।
भण्डारीले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा पनि मुद्दा खेपिरहेका छन् । सुन तस्करी प्रकरणमा जोडिएका दावासँग उनको सम्बन्ध देखिएपछि सीआईबीले पहिलेदेखि नै निगरानीमा राखेको थियो ।
Add Comment