लागूऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियताः लागूऔषध बरामद हालसम्मकै उच्च

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नयाँ चार चुनौती औल्याएका छन् ।गृहमन्त्री लेखकको पहिलो बर्षको कार्यकालमा लागूऔषध विरुद्ध मुलुकभर नियन्त्रणका लागि महाअभियान नै सञ्चालन गरे ।

उनले  जसमा पहिलो थियो, लागूऔषधको अवैध कारोबार र ओसार पसार, लागूऔषधसंगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता चुनौती थपिएको निश्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाएका थिए ।

काठमाण्डौं उपत्यकामा लागूऔषध विरुद्धको प्रहरी मार्फत महाअभियान नै सञ्चालनमा छ, भने गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रणका लागि मातहतका प्रहरी मात्रै होइन आम नागरिक, स्वयम् अभिभावकले लागूऔषध विरुद्धको महाअभियान साथ दिनुपर्नेमा जोड दिए ।

मन्त्री लेखकले नेतृत्व सम्हाले यता बितेको एक बर्षमा नेपाल प्रहरीले मात्रै लागूऔषध मुद्दामा ७ हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको छ । जुन पक्राउ संख्या अघिल्लो आर्थिक बर्ष भन्दा १ हजार २ सय १ बढी हो । अघिल्लो आर्थिक बर्ष २०८०÷०८१ मा ६ हजार ७ सय ४२ जना पक्राउ परेका थिए ।

गत आर्थिक बर्ष २०८१÷०८२ मा पक्राउ पर्नेमा ७ हजार १९७ पुरुष, ४ सय २१ महिला, ३०७ भारतीय नागरिक र १८ अन्य मुलुकका नागरिक रहेको प्रहरीको लागू औषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

सो अवधिमा लागू औषधका ५ हजार ११० मुद्दा दर्ता भएका छन् । यो अवधिमा २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरोहोरोइन, ८२९ किलोग्राम चरेश र ५१४३९ ग्राम गाँजा बरामद भएको छ ।

त्यसैगरी एक बर्षको अवधिमा एम्पुल २२०,४१०, नाइट्राजेपाम ९३,४२४, कोडिन सिरप (कोरेक्स) ८९४० लगायत ठुलो मात्रामा अन्य लागूऔषध प्रहरीले बरामद गरेको छ ।

अघिल्लो आर्थिक बर्ष भन्दा मन्त्री लेखकको कार्यकालको पहिलो बर्षमा कोकिन मात्रै ७ किलोग्राम बिगत भन्दा बढी बरामद भएको ब्युरोको तथ्याङ्कबाट देखिन्छ । ब्युरोको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७९÷८० मा लागूऔषध सम्वन्धी ४ हजार १ सय मुद्दा दर्ता भई ६ हजार १८६ जना पक्राउ परेका थिए । भने आर्थिक बर्ष २०८०÷०८१ मा ४४ सय २४ मुद्दा दर्ता भई ६ हजार ७४२ जना पक्राउ गरिएको थियो ।

खैरोहिरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोल लगायतका अन्य औषधि मुलुकभित्र प्रयोग बढ्दो रहेको छ । भने कोकिन, अफिम, चरेश र गाँजा भारत तस्करी हुने गरेको छ । प्रहरीले देशभरका जिल्ला प्रहरी कार्यालयमा अभियुक्तहरु विरुद्ध मुद्दा चलाउँदै आएको छ ।

ब्युरोको विवरण अनुसार पनि गत आर्थिक बर्षमा मात्रै १६ सय ७५ जनालाई मुद्दा चलाइएको छ । अघिल्लो आर्थिक बर्षमा ब्युरोले ११ सय ९३ जना विरुद्ध मुद्दा चलाएको थियो । भने आर्थिक बर्ष २०७९÷०८० मा ब्युरोले ९ सय ३७ जना विरुद्ध मुद्दा चलाएको थियो । विवरण अनुसार ब्युरोको सक्रियता बढेकै कारण अभियुक्तहरु पक्राउ पर्ने क्रम बढेको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बलले लागूऔषध नियन्त्रणका लागि सक्रियता बढाएको छ । बितेको एक बर्षमा सशस्त्र प्रहरी बलले लागूऔषध कारोबार तथा ओसार पसारमा संलग्न ४ सय ६० जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बलले ‘नशा रहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागूऔषध नियन्त्रणमा जुटेको छ ।