काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कार पछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन् ।
आइतबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिए । उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनैकसर बाँकी नराख्न सिआइबीलाई निर्देशन दिएका छन् ।
“ निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तिव्रता दिन आग्रह गर्छु ।” गृहमन्त्री लेखकले भने–“ नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेकोछ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।”
मन्त्री लेखकले सिआइबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताए । मुलुकमा पछिल्लो समय बित्तिय अपराध बढेकाले आफूले बित्तिय अपराध नियन्त्रणका लागि बित्तिय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए ।
“ प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुदै आएको छ ।” उनले भने–“ प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतको भन्दा चालु आर्थिक बर्षमा तुलनात्मक रुपमा बजेट बढी बिनियोजन गरिएको छ ।” प्रहरीभित्र सिआइबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवारी पुरा गर्न प्रविधि, जनशक्ति लगायतका विकास गरिनेमा जोड दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा, सिआइबीका प्रमुख प्रहरी अतिरित्त महारिक्षक चन्द्रकुवेर खापुङ् लगायत सिआइबीका कार्यरत प्रहरी अधिकारी सहभागी थिए ।


Add Comment