नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५ सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीनदिने कार्यक्रम ‘नेपाल लाइफ लिडरसिप एक्सिलेन्स अवार्ड २०२५’ भव्य रूपमा सम्पन्न भएको छ।

साउन १६ गतेदेखि १८ गतेसम्म काठमाडौंको सोल्टी होटलमा आयोजित उक्त कार्यक्रममा देशभरका उत्कृष्ट ४ सय ४० जना अभिकर्ताको सहभागिता रहेको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले उद्घाटन गरेका कार्यक्रममा उत्कृष्ट अभिकर्ता, एजेन्सी म्यानेजर तथा विभिन्न श्रेणीमा उच्च प्रदर्शन गर्नेहरुलाई नगद र ट्रफीसहित सम्मान गरिएको हो।

धनगढीका मदन भट्ट लगातार चौथो पटक नेपालभरबाट उत्कृष्ट अभिकर्ता बन्न सफल भएका छन्। उनले यस वर्ष पनि सर्वाधिक कारोबार गरी विशेष सम्मान प्राप्त गरेका हुन्।

झापाका जंग बहादुर राजवंशीले तीन करोड रुपैयाँको कारोबारसहित दोस्रो स्थान हासिल गरेका थिए भने धनगढीकै मिन बहादुर कुवरले तीन करोड रुपैयाँ बराबरको कारोबार गरी तेस्रो स्थान प्राप्त गरे।

तीनै जनालाई क्रमशः २ लाख ५१ हजार, १ लाख ३५ हजार र ७५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको कम्पनीले जनाएको छ। समापन समारोहमा सिइओ पराजुलीले आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्दै नयाँ आर्थिक वर्षको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा हास्यकलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुति रहेको थियो भने अन्तिम दिन मनोरञ्जनात्मक कार्यक्रममार्फत सहभागी अभिकर्ताहरुले उत्सवमय वातावरणमा कार्यक्रमको समापन गरेका थिए।