सप्तकोशीमा पानीको बहाव उच्च, सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ। आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९१ हजार २ सय १० क्युसेक पानीको बहाव मापन गरिएको कोशी कन्ट्रोल रुमले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठका अनुसार पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि ब्यारेजमा खतरा संकेतस्वरूप रातो बत्ती बालिएको छ। सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। हाल कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएका छन्।

यसैबीच, कोशी प्रदेशमा सक्रिय मनसुनका कारण सम्भावित बाढी, पहिरो र डुवानको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले विपद्‌ व्यवस्थापन र प्रतिकार्यका लागि सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोत र साधन परिचालन गर्ने तयारी गरिएको जानकारी दिएका छन्।