काठमाडौं । संघीय संरचनाको शुरुवातदेखि नै विरोध गर्दै आईरहेका जनमोर्चा नेपालका संयोजक एवं सांसद चित्रबहादुर केसी अहिले पनि संघीयताले देश वन्दैन भन्दै आईरहेका छन् । संघीय संरचनाकै संघीय सांसद रहेका केसीले मुलुक गणतन्त्रमा जानु पूर्वदेखि नै संघीयताले देशको आर्थिक अवस्था खराव हुने र धान्नै नसक्ने अवस्था आउने भएकाले पनि प्रदेश संरचनाको विरोध पनि गर्दै आईरहेको थिए। अहिले अवस्था चित्रबहादुर केसीले भने जस्तै देखिएको छ ।
प्रदेश संरचना प्रदेशको विकास र जनताको हितका लागि भन्दा पनि मुख्यमन्त्री बन्ने, मन्त्री बन्ने अनि राष्ट्रको ढुकुटी रित्याउनमा नै केन्द्रित भएको देखिन्छ । त्यसको प्रत्यक्ष उदाहरणका रुपमा प्रदेशमा हुने मुख्यमन्त्री परिवर्तनको खेल, मन्त्री बन्ने होडबाजी नै हो । त्यसकारण पनि प्रदेश संरचना सहित संघीयताको विरोध गरेको स्पष्ट देखिन्छ । अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश संरचना आवश्यक नरहेको भन्दै त्यसका विरोधमा अभियान नै चलाएको देखिन्छ । त्यत्तिमात्र होइन २०७९ सालमा भएको आम निर्वाचनका समयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले त प्रदेश संरचनाको मतदान नै वहिष्कार गरेका थिए ।
अहिले संघीय संत्ता दुई ठूला दल एमाले कांग्रेसको गठवन्धनमा छ । जसले नेपालको राजनीतिक विचार, सिद्धान्तलाई पद र सत्ताले खाईदिएको छ । हिजो विचारमा लडेको एमाले कांग्रेस अहिले अरुलाई वन्देश गर्ने किसिमले गठवन्धन गरी संघ र प्रदेश संरचना चलाउने अवस्थामा भएको स्पष्ट देखिएको छ । त्यसको प्रत्यक्ष उदाहरणका रुपमा बागमती प्रदेशमा कांग्रेसकै मुख्य मन्त्री हटाएर कांग्रेसकै इन्द्रबानियाँलाई मुख्य मन्त्रीमा नियुक्ति गर्नुले पनि पुष्टि गरेको छ ।
इन्द्र बानियाँ बागमती प्रदेशको छैठौं मुख्यमन्त्री बन्न सफल भएका छन् । २०७२ सालमा जारी नेपालको संविधानको मर्म अनुरुप २०७४ सालमा सात प्रदेश सहितको निर्वाचन त भयो तर यो सात बर्षको अवधि सकिएर आठौं बर्षमा प्रवेश गरिरहँदा बागमती प्रदेशले पाँच वटा मुख्य मन्त्री फेरेर छैठौ मुख्य मन्त्री नियुक्ति गरिसकेको छ ।
संघीय संरचना अनुरुप बागमती प्रदेशको पहिलो मुख्य मन्त्री डोरमणि पौडेल बन्न सफल भएका थिए भने क्रमश अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा तामाङ प्रदेशको मुख्यमन्त्री खाईसकेका छन् । प्रदेश संरचनता दलका यिनै कार्यकर्ता नेता भर्ति केन्द्रका रुपमा स्थापित बनेको छ । सत्ता र शक्तिका लागि स्थानीय तह होस् या प्रदेश र संघीय राजनीतिमा समेत विचार भन्दा पनि विभिन्न व्यवसायीहरुको हालीमुहाली बढ्दै गएको छ । जसले दललाई चन्दा दिन सक्छ उही नेता बन्ने परिपाटी बनेको विभिन्न उदाहरण छर्लङ्ग छ ।
को हुन् इन्द्र बानियाँ ?
कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको राजनीति गर्दै मूल पार्टीको राजनीतिमा होमिएका बानियाँ नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति हुन् । विसं २०४४ मा राजनीतिमा प्रवेश गरेका बानियाँ २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिएका थिए।
विसं २०५२ मा नेपाल विद्यार्थी सङ्घको जिल्ला सहसचिव हुँदै २०५५ सालमा तरुण दलको जिल्ला सचिव र २०५६ सालमा तरुण दलको जिल्ला सभापति भएका थिए। विसं २०५८ मा कांग्रेस मकवानपुरका जिल्ला कार्यसमिति सदस्य भएका बानियाँ २०७३ साल चैत १२ गते नेपाली कांग्रेस मकवानपुरको सभापतिमा निर्वाचित भएका थिए।
विसं २०७८ मङ्सिरमा भएको कांग्रेस बागमती प्रदेश अधिवेशनबाट प्रदेश सभापतिमा बानियाँ निर्वाचित भएका थिए। विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट निर्वाचित ५२ वर्षीय बानियाँ २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीमा नियुक्त भई काम गरिसकेका छन्।
विसं २०७४ मा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका बानियाँ सर्वसम्मत कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुनिएका थिए। विसं २०७९ को प्रदेशसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भए पनि उहाँ संसदीय दलका नेतामा बहादुरसिंह लामा तामाङसँग पराजित भएका थिए।
गत साउन ९ गते संसदीय दलका नेता लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि संसदीय दलको नेताको पद रिक्त भएको थियो । रिक्त दलको नेता चयनका लागि साउन १४ गते भएको निर्वाचनमा २२ मत ल्याएर बानियाँ दलको नेतामा निर्वाचित भएका थिए ।
बानियाँ दलको नेतामा निर्वाचित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएपछि उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्य मन्त्री नियुक्ति भएका बानियाँ निर्माण व्यवसायी हुन् ।


Add Comment