काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएको छ ।
सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा करिब ४ लाख १५ परीक्षार्थी सहभागी हुने जानकारी दिँदै बोर्डका अध्यक्ष डा शर्माले देशभरका १ हजार २ सय ९२ केन्द्रमा परीक्षा सञ्चालन हुने बताएका छन् ।
उनका अनुसार ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइने छ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नुपर्ने छ ।
विगत २ वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय होम सेन्टरमा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो ।
तीन घण्टा सञ्चालन हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थितरुपमा सम्पन्न गर्न बोर्डका अध्यक्ष डा शर्माले सबै सरोकारवाला निकाय तथा आमनागरिकमा आह्वान गरेको छन् ।
Add Comment