काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आइतबार दिउँसो श्रीमतीसहित दलबल लिएर ठमेलस्थित छायाँ सेन्टर पुगेका थिए । एक कार्यक्रमका लागि मन्त्रालयका ६ , ७ जनासहितको टोली क्यानडा जाने तयारीमा थियो । त्यसैले श्रेष्ठ दम्पती पनि भिसा आवेदन गर्न त्यहाँ पुगेका थिए ।
‘गरुड सेक्युरिटी’ अन्तर्गत कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङले उनीहरुलाई लाइनमा आउन भने । तर एकजना प्रत्यक्षदर्शीका अनुसार पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजेको बताए । छायाँ सेन्टरमा रहेको भीएफएस ग्लोबल भिसा सेन्टर एउटा अन्तर्राष्ट्रिय निजी कम्पनी हो । जसले क्यानडा, जापानसहित युरोपका धेरै देशको भिसा प्रक्रिया अघि बढाउदै आएको छ ।
याहाँ जो आए पनि लाइनमा बस्नुपर्ने भन्ने नियम हो, तर पूर्वजानकारी हुँदा समन्वय पनि हुने गरेको थियो’ सेन्टरका एक कर्मचारीले भने, ‘पर्यटनमन्त्रीज्यू खबर नगरी आएको बताए । त्यसैले गुरुङले मन्त्री भए पनि सामान्य नागरिकझैं नियम लाग्ने बताए । त्यसक्रममा विवाद भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार त्यतिबेला लाइनमा पनि २ जना मात्र थिए । ‘पर्खिएको भए पनि ठूलो कुरा थिएन’ उनले भने, ‘विवादले बरु झन् समय लम्बियो ।’ विवादपछि उनी भित्र गए, फर्किएर आएर यो विषय प्रहरीमा जानकारी गराएका थिए ।
मन्त्रालयबाट खबर आउने वित्तिकै प्रहरी वृत्त दरबारमार्गको टोलीले गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोरा बताएका छन् । अभद्र व्यवहारको कसूरमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी रहेको एसएसपी बोहोराले बताएका छन् ।
Add Comment