काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकार प्रवद्र्धन गर्ने सरकारको प्रयासका बाबजुद पनि मानव अधिकार उल्लङ्घनका घटना नरोकिएकाप्रति चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगसँगको सहकार्यमा आज आयोजित ‘१४औँ मानव अधिकार राष्ट्रिय भेला–२०७९’ को उद्घाटन गर्दै उनले जनताले पूर्ण मानव अधिकार पाएको महसुस गर्न नसकेको बताएका छन् ।
उनले मानव अधिकार सबैका लागि रहेको र वास्तविक अर्थमा मानव अधिकार आवाजविहीन, शोषित, उत्पीडित, सीमान्तकृत र राज्यले पछाडि पारेका जाति र वर्गका लागि रहेको छ । मानव अधिकारको कार्यान्वयन समाजको उन्नति र प्रगतिका लागि रहेको बताए । मानव अधिकारको सम्मान, संरक्षण र पूर्णपालन अनिवार्य भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारको प्रत्याभूतिका लागि कानूनी व्यवस्थालाई पूर्णरूपमा लागू गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल सरकारले मानव अधिकारप्रति पूर्ण प्रतिबद्धता जनाएको र मानव अधिकार सुनिश्चितता सदैव नेपालको उच्च प्राथमिकतामा रहिआएको जनाउँदै उनले मानव अधिकारका लागि नेपालमा बहुआयामिक कार्य हुँदै आएको स्मरण गरेका छन् । उनले भने मानव अधिकार कार्यान्वयनका लागि राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकारसम्बन्धी सङ्घसंस्थाले आआफ्ना प्रयास जारी राखेका छन् । नव अधिकार प्रत्याभूत गर्न गरिरहेको कार्यका लागि राष्ट्रिय मानव अधिकार आयोग र मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थालाई धन्यवाद दिन चाहेको बताए ।
नेपालको संविधानले नागरिकका थुप्रै मौलिक हकअधिकारको सुनिश्चितता गरेको उल्लेख गर्दै उपराष्ट्रपतिले मानव अधिकारका रूपमा रहेका मौलिक हकको कार्यान्वयन गर्न सबै पक्षको ध्यानाकृष्ट गरेका छन् । विश्वका मानवले पाउने आधारभूत सामाजिक, आर्थिक, नागरिक हक तथा स्वतन्त्रता नै मानव अधिकार हो । मानिसको भाषिक, धार्मिक, सांस्कृतिक, स्वास्थ्य, शिक्षाको अधिकार, हिँड्डुल, स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार, आर्थिक, सामाजिक, श्रम तथा रोजगार जस्ता सबै अधिकार मानव अधिकार हुने उनले बताएका छन् ।
मानव अधिकारको प्रयोगका रूपमा नागरिकले आगामी पाँच वर्षका लागि मत दिएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले निर्वाचनमा सहभागी भएर मताधिकारको प्रयोग गर्नुभएकामा आम मतदातालाई बधाई दिएका छन् । निर्वाचनको पूर्ण परिणामसँगै सङ्घ तथा सात प्रदेशमा सरकार बन्ने र ती सरकारले देशको विकास र समृद्धिका लागि नेतृत्व गर्ने उनको विश्वास रहेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आप्रवासी नेपालीलाई गन्तव्य मुलुकमा मानव अधिकारको प्रत्याभूति दिलाउन सम्बन्धित मुलुकका मानव अधिकारवादी संस्थासँग समन्वय गरिरहेको बताएका छन् । मानव अधिकारको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा आयोग लागि परेको उनले बताए ।
कार्यक्रममा ‘मानव अधिकार र शान्तिका निम्ति पद्मरत्न तुलाधर सम्मान पहिचानवादी आन्दोलनका अगुवा मल्ल के सुन्दरलाई प्रदान गरेका थिए। यस्तै ‘१४औँ राष्ट्रिय मानव अधिकार महाभेला सम्मान आप्रवासी श्रमिकको मानव अधिकार पैरवीमा अहोरात्र खटिनुभएका डा गणेश गुरुङलाई प्रदान गरेका थिए ।

