काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएका छन् ।
आज भएको खेलमा नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा नेपाल ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १२० रनको लक्ष्य स्कटल्याण्डले १६ दशमलव ५ओभरमा २ विकेट गुमाएर पूरा गरेका थिए ।
स्कटल्याण्डको जीतमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ रन बनाए भने जर्ज मुन्सीले ४५ रन बनाएका थिए । त्यस्तै कायल कोट्जरले १६ रन बनाउँदा कप्तान रिची बेरिङ्टन १२ रनमा अविजित रहेको बताएका छन् । नेपालका लागि गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १र१ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३५ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनाएका थिए। नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए भने सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाएका थिए । ललितनारायण राजवंशीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएन ।
स्कटल्याण्डका मार्क वाट, ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २र२ विकेट लिएका थिए। क्रिस्टोफर म्याकब्रिड, क्रिस सोल र क्रिस ग्रेभिसले समान १र१ विकेट लिए । विभिन्न सात टोली सहभागी विश्वकप लिग २ मा जीतसँगै स्कटल्याण्ड ३२ खेलमा ४६ अङ्कका साथ शीर्ष स्थानमा रहेका छन् । नेपाल भने २४ खेलमा १८ अङ्कसहित छैटौँ स्थानमा रहेको थियो ।
ेयसैगरी प्रतियोगितामा नेपालले नामिबियाविरुद्धको पहिलो खेल वर्षा बाधक बन्दा अङ्क बाँडेको र दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेट तथा तेस्रो खेलमा नामिबियासङ ८६ रनले पराजित भएका थिए ।

