काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको फेरि सांसद बनेर पद फर्काउने प्रयास बन्द भएको छ ।
सर्वोच्च अदालतले श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश खारेज गरिदिएसँगै सांसद पद फर्काउने प्रयास बन्द भएको हो।
न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेका छन् ।
मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो। पार्टीले श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारवाही गरेको हो। समानुपातिक सांसद श्रेष्ठ पद गुमाएसँगै सर्वोच्च पुगेका थिए।
रास्वपाले श्रेष्ठको ठाउँमा एसिडपीडित बिन्दावासिनी कंसाकारलाई सांसद नियुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको थियो।
आयोगले कंसाकारलाई सांसद मनोनयन गरेपनि अल्पकालीन अन्तरिम आदेशका कारण उनको शपथ रोकिएको थियो। सर्वोच्चले अन्तरिम आदेश खारेज गरेसँगै कंसाकारको शपथ ग्रहणको बाटो खुलेको छ।

