काठमाडौं । प्राध्यापक डाक्टर दलबहादुर अधिकारी पाँच दिनदेखि हराइरहेका छन्।
साउन ३२ गते बुढानिलकण्ठस्थित पञ्चकन्याको कोलनीबाट निस्किएका ६८ वर्षीय अधिकारी भदौ ४ गतेसम्म फेला परेका छैनन्।
अधिकारीकी बुहारी अनिता वाइवाका अनुसार साउन ३२ गते बिहान पौने ११ बजेतिर अधिकारी घरबाट निस्किएका थिए।
‘उहाँलाई बिर्सने रोग (अल्जाइमर्स) छ। एक वर्षदेखि कोलनीको गेटभन्दा बाहिर एक्लै जानुभएको थिएन,’ वाइवाले भनिन्,‘त्यो दिन कोलनीभित्रै मर्निङ वाक गरेर चिया-नास्ता खाएर बस्नुभएको थियो। एकछिनमा त हिँड्नुभएछ।’
रूसबाट विद्यावारिधि गरेका अधिकारी गणितका प्राध्यापक हुन्। लामो समय त्रिचन्द्र कलेजमा अध्यापन गरेका अधिकारीले काठमाडौं विश्वविद्यालयलगायत अरू क्याम्पसहरूमा पनि पढाएका थिए।
‘केही वर्षअघिसम्म नेसनल कलेजमा अध्यक्ष हुनुहुन्थ्यो तर रोगले च्याप्दै लगेपछि तीन वर्षअघि छोड्नुभएको हो,’ बुहारी अनिताले भनिन्,‘पछिल्लो एक वर्षमा उहाँलाई झन् गाह्रो भएको थियो। बोलेको कुरा छिनमै बिर्सने, व्यक्तिगत काम गर्न पनि गाह्रो हुने भएको थियो।’
अधिकारीलाई सुगरको पनि समस्या थियो।
उनले घर छोडेको थाहा पाउना साथ नै खोजी कार्य सुरू गरे पनि अहिलेसम्म कुनै क्लु फेला नपरेको अनिताले बताइन्।
‘नजिकै रहेको सिमली गाउँको सिसिटिभीमा उहाँ देखिनुभएको छ। केही मानिसहरू मन्दिरमा टीका लगाउँदै गरेको देखेको बताएका छन्। तर कहाँ हुनुहुन्छ भन्ने केही क्लु पाइएको छैन,’ उनले भनिन्,‘आज चाबहिलको पनि सिसिटिभी हेर्दैछौं।’
अनिताका अनुसार घरबाट निस्किएका दिन अधिकारीले हल्का सेतो रङको सर्ट, खरानी रङको सुरूवाल र कालो मोजा लगाएका थिए। जन्मजात ओठ फाटेका अधिकारी गहुँगोरो वर्णका छन्।
अधिकारीलाई कसैले कहीँ देखे नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन उनको परिवारले अनुरोध गरेको छ।

