काठमाडौं । बीवाइडीको नयाँ इलेक्ट्रिक गाडी ‘सिलायन सेभेन’ नेपाली बजारमा प्रवेश गरेको छ।
नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बिहीबार काठमाडौंमा एक विशेष समारोह आयोजना गर्दै उक्त गाडी सार्वजनिक गरेको हो।
साइमेक्सले सिलायन सेभेनको बुकिङ असार २० गतेदेखि खुला गरेको थियो भने अब बिक्री पनि सुरु भएको छ। गाडीको प्रारम्भिक मूल्य ‘अर्ली बर्ड अफर’ अन्तर्गत ७२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले गाडीको नियमित मूल्य भने ७४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ।
गाडीमा १५.६ इन्चको रोटेटेबल टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र १०.२५ इन्चको डिजिटल क्लस्टर रहेको छ। साथै, पानारोमिक सनरुफ, अगाडि र पछाडि सेन्सर, ३६० डिग्री क्यामेरा, रिभर्स क्यामेरा, एन्ड्रोइड अटो, एप्पल कारप्ले, र ६ वटा एयरब्यागले सुरक्षा पक्षमा उच्च सुविधा प्रदान गर्छ।
यो गाडी ४८ मिटर लम्बाइ भएको एसयूभी हो, जसमा १०० किलोवाटको मोटर पावर र ७१.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। कम्पनीका अनुसार एकपटक पूरै चार्ज गरेपछि गाडीले ४४० किलोमिटरभन्दा बढी यात्रा गर्न सक्ने दाबी गरिएको छ।
सिलायन सेभेन पहिलो पटक गत वर्षको अटो नाडा मोटर एक्स्पोमा सार्वजनिक प्रदर्शनीमा राखिएको थियो। बजारमा यसले डीपल एस०७, महिन्द्राको बीई०६, एक्सयूभी ९ ई र लीपमोटर सी१० जस्ता मोडेलसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ।
सुरक्षा सुविधामा थप विशेषता स्वरूप गाडीमा राडर, मल्टिपल क्यामेरा, १२ वटा सेन्सर, ब्लाइन्ड स्पट वार्निङ, हाइ बिम असिस्ट, लेन डिपार्चर वार्निङ र लेन किप असिस्टजस्ता प्रविधिहरू पनि उपलब्ध छन्।


Add Comment