प्रधानमन्त्री देउवाद्वारा काँग्रेसको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना भाइ स्वर्गीय प्रेमबहादुर देउवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । देउवाले पशुपतिस्थित आर्यघाटमा भाइ प्रेमबहादुरको पार्थिव शरीरमा नेपाली काँग्रेसको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, पार्टी प्रवक्ता डा प्रकाशशरण महतलगायत काँग्रेस नेता तथा कार्यकर्ता, स्वर्गीय प्रेमबहादुरका परिवारका सदस्य र आफन्तजनले पनि प्रेमबहादुरको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित भएका प्रेमबहादुरको ६७ वर्षको उमेरमा मङ्गलबार बिहान २ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । स्वर्गीय देउवाका श्रीमती, दुई छोरा वीरेन्द्र देउवा, विक्रम देउवा तथा छोरीद्वय बिन्दु देउवा बम र सिन्धु देउवा राणा छन् । यसैबीच, नेपाली कांग्रेसले एक विज्ञप्ति प्रकाशित गरी प्रेमबहादुर देउवाको निधनप्रति गहिरो शोक प्रकट गरेको छ ।