पाँचसय सत्तरी स्थानीय तहको परिणाम सार्वजनिक

काठमाडौँ । वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनको हालसम्मा ५७० स्थानीय तहको निर्वाचनको परिणाम आएको छ । निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आज आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका छन् ।

प्रवक्ता पौडेलका अनुसार हालसम्म प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्यमा ११ हजार २९५ गरी कूल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेका छन् । कुल ३५ हजार २२१ मध्ये अहिलेसम्म आएको परिणाम ८० प्रतिशत रहेको प्रवक्ता पौडेलले बताए ।

देशभरका ७५३ पालिकामध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका वडा १७ र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाबाहेक देशभरका सबै मतदान केन्द्रमा मतदान कार्य सञ्चालन भएको प्रवक्ता पौडेलले बताए । स्थगन भएका स्थानमध्ये ५ स्थानमा जेठ १ गते, ७ स्थानमा जेठ २ गते, ८ स्थानमा जेठ ३ गते र १५ स्थानमा जेठ ४ गते मतदान कार्य सम्पन्न भइसकेको आयोगले जानकारी दिएको छ ।

अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम रहेको प्रवक्ता पौडेलले जानकारी गराए । यस्तै, उदयपुरको त्रियुगा नगरपालिका वडा १२ र बाजुराको बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको बताए ।

जेठ ५ गतेलाई स्थानीय तहका जनप्रतिनिधिहरुको पदमा बहाल रहने अन्तिम मिति मानेर सो मितिसम्ममा वैशाख ३० मा सम्पन्न भएको मतदानको गणना कार्य सक्नेगरी निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतहरुलाई यसअघि नै आवश्यक निर्देशन दिइसकेको छ ।

जेठ ५ गतेसम्ममा सम्पूर्ण स्थानीय तहमा मतगणना कार्य सम्पन्न हुन नसकेको हुँदा यथासक्य छिटो, बढीभन्दा बढी मत गणना टोली परिचालन गरी गणना कार्य सम्पन्न गर्न र गत वैशाख ३० गते मतदान स्थगित भई पुनः मतदान भएका मतदान केन्द्रको हकमा मतपेटिका प्राप्त भएको बढीमा ४ दिनभित्र मत गणना कार्य सम्पन्न हुने विश्वास आयोगले गरेको छ ।

नेपालको संविधानको धारा २१५ उपधारा (४) मा गाउँसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र गाउँसभाका सदस्यहरुले आफूमध्येबाट निर्वाचित गरेका ४ जना महिला सदस्य र उपधारा (५) बमोजिमको योग्यता भएका दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका २ जना सदस्य हुने व्यवस्था रहेको छ ।

त्यस्तै, धारा २१६ को उपधारा ४ बमोजिम नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको पन्ध्र दिनभित्र नगरसभाका सदस्यहरुले आफूमध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य र उपधारा (५) बमोजिमको योग्यता भएका दलित वा अल्पसंङ्ख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन जना सदस्य समेत नगर कार्यपालिकाको सदस्य हुने व्यवस्था रहेको भन्दै आयोगले स्मरण गराएको छ ।

निर्वाचित जनप्रतिनिधिहरुमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र जिल्ला समन्वय समितिको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको ७ दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीशसमक्ष पद तथा गोपनियताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ ।

आयोगले निर्वाचन प्रक्रियामा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन मतदान निर्देशिका, २०७८ र स्थानीय तह निर्वाचन मतगणना निर्देशिका, २०७८ को व्यवस्थाको प्रतिकूल हुनेगरी कार्य गर्ने कर्मचारीको विवरण पठाउने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

आयोगले स्थानीय तह सदस्य निर्वाचनको सिलसिलामा देशका विभिन्न मतदानस्थलका मतदान केन्द्रमा भएका कानूनविपरीत गतिविधिमा संलग्नलाई कारवाही गर्न निर्देशन दिएको छ । त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरी निर्वाचन कसूर तथा सजाय ऐन, २०७३ बमोजिम कारवाही गर्न नेपाल सरकार, गृह मन्त्रालयमार्फत ७७ जिल्लाका सबै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिने र सोको जानकारी प्रहरी प्रधान कार्यालयलाई दिने आयोगले निर्णय गरेको प्रवक्ता पौडेलले बताए ।