भक्तपुरमा मोटरसाइकल सहित एकजना पक्राउ

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोट केएमसी चोकबाट चोरी गरी ल्याएको मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली तिनपाटन गाउँपालिका ६ घर भई काठमाडौं न्यूरोड बस्ने २० वर्षीय भोज बहादुर श्रेष्ठ रहेका छन् । उनलाई मोटरसाइकल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी आएका भोज बहादुरले बाग्मती प्रदेश ०२-०३३ प ६०९१ नम्बरको मोटरसाइकल लक तोडी चोरी गरी ल्याएको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिने क्रममा उनले हातपात गरी घाइते भएका १ जना प्रहरी जवान कोरियन अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।