काठमाडौँ । चितवनमा बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका १ पिप्लेकी २७ वर्षीया महिला रहेकी प्रहरीले जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ घर भई हाल राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
काठमाडौँबाट चितवन राप्ती नगरपालिका–१ पिप्ले भाउजूको घर आएकी २७ वर्षिया महिला बाटो अलमलमा परेको बेला घलानले भाउजूको घर पु¥याइदिन्छु भनेर उनलाई बन्धक बनाएको प्रहरीले जानकारी गराएको छ । लामो समयसम्म आफ्नै घरमा राखी ती महिलालाई घलानले पटकपटक यौन हिंसा गरेका कारण रक्तस्राव भएपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।
घटनाको विषयमा जानकारी पाएपश्चात् मृतक महिलाको भाउजू भीमकुमारी तामाङले प्रहरीलाई खबर गरेको र पीडक हाल प्रहरीको नियन्त्रणमा रहेको कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिइएका छन् ।
Add Comment