कांग्रेस सांसद शर्मालाई पक्राउ गरेको भन्दै संसद्‌मा एमालेको आपत्ति

फाईल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा। सुनिल शर्माको पक्राउप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शुरुमै सभामुखसँग समय लिएर एमाले पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साहले नक्कली प्रमाणपत्रको बखेडा झिकेर शर्मालाई पक्राउ गरिएको आरोप लगाएकी हुन् ।

विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन माग गरेको आधारमा शर्मालाई पक्राउ गरिएको सांसद साहले दावी गरिन् । एमबीबीएस अध्ययनका लागि भारतको बिहारबाट आइएसस्सीको नक्कली प्रमाणपत्र बनाएको आरोपमा सांसद शर्मा बिहीवार काठमाडौंबाट पक्राउ परेका थिए ।

यसैबीच, एमालेको नाराबाजीका कारण प्रतिनिधिसभा बैठक सोमवारसम्मका लागि स्थगित भएको छ ।

सुन तस्करी सम्बन्धमा छानबिनको माग गर्दै एमाले सांसदले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले साउन २९ गते सोमवारसम्मका लागि बैठक स्थगित गरेका छन् ।

त्यसअघि संसदमा एमाले सांसदले विरोध जनाएकोमा सत्तापक्षका सांसद उठेर बोल्न समय माग गरेका थिए । एमालेको विरोधका कारण साउन १० गतेदेखि प्रतिनिधिसभा बैठक चल्न सकेको छैन ।