वडा अध्यक्ष चिनीकाजीको नेतृत्वमा न्यूरोडमा पहरा

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको सडक पुर्ननिर्माण गरी सडकको चौडाई कम गर्ने र सडक पेटी फराकिलो बनाउने भन्दै भत्काउन थाले लगतै न्यूरोेडका स्थानीयहरु सडकमा उत्रिएका छन् । स्थानीयहरुले बुधबार दिउँसो स्थानीयले महानगरपालिकाको विपक्षमा आन्दोलन नै गरेका थिए । न्यूरोड आन्दोलनमा महानगर कै विपक्षमा वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले नेतृत्व गरिरहेका छन् । यस अघिदेखि नै न्यूरोडको पाकिङ्ग व्यवस्थापनमा लागेका वडा अध्यक्ष महर्जन अहिले अग्रपंक्तिमा देखिएका छन् ।

मंगलबार राती र बुधबार राती न्यूरोड चोकमा वडा नं २२ का वडा अध्यक्ष चिनीकाजी महर्जन कै नेतृत्वमा अहिले पहरा दिन काम भईरहेको छ । महानगरले रातको समयमा सडक खन्न सक्ने भन्दै राती पनि स्थानीयहरुको सहयोगमा सडक खन्न रोक्नका लागि आफूहरुले पहरा दिईरहेको अध्यक्ष महजैनले बताए ।

बुधबार न्यूरोड क्षेत्रमा सडक निर्माण रोक्न आन्दोलन भएसँगै संघीय सरकार मातहतमा रहेको सडक विभागले समेत सो सडक खण्ड संघीय संरचना अनुरुप नै पर्ने भएकाले तत्काल सडक भत्काउने काम रोकेर जस्ताको त्यस्तै बनाउन डिभिजन सडक कार्यालय काठमाडौंले महानगरलाई पत्र नै पठाएको छ ।

अहिले काठमाडौ महानगर र सडक विभागको वीचको दोहोरी चलिरहेको देखिन्छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका ८ मिटरसम्मका सडक निर्माण तथा मर्मत गर्ने कार्य काठमाडौं महानगरपालिकाको क्षेत्राधिकार भित्र पर्छ भने सो भन्दा माथिको सडक खण्ड संघीय सरकारको मातहतमा पर्दछ । तर, महानगरले स्वीकृत विना नै सडक भत्काएको भन्दै डिभिजन सडक कार्यालय पत्र पठाएको हो । महानगरले न्यूरोड क्षेत्रको सडकपेटी फराकिलो बनाउने अभियानमा वडा अध्यक्ष नै विपक्षमा उभिएपछि स्थानीयलाई पनि अहिले आन्दोलन गर्न सहज भएको छ ।