नेपालमा कतारी नाेट अब कागज मात्र

काठमाडौं ।  कतारी रियालआजदेखि कागजकाे रूपमा परिणत भएकाे छ ।  नेपाल राष्ट्र बैंकले दिएकाे जानकारी  अनुसार सोमबार (आज)सम्म नसाटिएका कतारी रियाल चलनचल्तीमा नआउने भएकाे हाे ।
हाल चलनचल्तीमा रहेको कतारी रियलको चौथो संकरणका नोटहरु सोमबारदेखि नचल्ने भन्दै राष्ट्र बैंकले २० दिनअघि सूचना जारी गरेको थियो।

सूचनामा केन्द्रीय बैंकले सबै नागरिकलाई आफूसँग भएको कतारी रियाल राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्था वा मनीचेञ्जरमा वैशाख २० गतेसम्म सटही गरिसक्न भनेको थियो। तर, सोमबारसम्म पनि सटही नगरी राखेका कतारी रियाल नोट अब काम नलाग्ने भएका हुन्।  कतारमा काम गरेर नेपाल फर्केका नेपालीहरुसँग चौथो संस्करणको कतारी रियाल हुन सक्ने सम्भावना रहेको भन्दै कतारको केन्द्रीय बैंकले कतारी रियल साट्न नेपाल सरकारलाई समय दिएको थियो।

केन्द्रीय बैंकले पनि सोहीअनुसार सूचना जारी गरेको हो। कतार सरकारले पाँचौ संस्करणको कतारी रियाल निष्कासन गर्ने तयारी गरिसहेको छ। सोही कारण नेपालमा भएको चौथो संस्करणका कतारी नोट संकलन गरेर कतार पठाउन लागिएको हो ।  आजसम्म नोट साट्ने समय नै भएकोले कतारी नोट कति रहेछ भन्नेबारे यकिन तथ्यांक आइनसकेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।