काठमाडाैँ । नेप्से परिसूचक ४७.१५ अंकले बढेर २ हजार २ सय ११.७६ बिन्दुमा कायम भएको हो । आज २ सय ५७ वटा कम्पनीका १ करोड ४६ लाख ७६ हजार २ सय छ कित्ता शेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८ सय ५३ मा कारोबार भएको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण रू ३१ खर्ब ९३ अर्ब २१ करोड २६ लाख पुगेको छ । होटल तथा पर्यटन समूहको उपसूचक २३.९२ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेका छन् ।
सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३७.६१ अंक र जीवन बीमा समूहको उपसूचक १ सय ७८.६७ अंकले बढेको छ ।
नेप्सेका अनुसार बैंकिङ समूह २९.२२, विकास बैंक समूह एक सय २४.२७, वित्त समूह ४९.२४ र जलविद्युत् समूह एक सय २२.६१ अंकले बढेको छ । त्यस्तै लगानी समूह १.७६, उत्पादन समूह २.२६, लघुवित्त समूह ९.४९, म्युचुअल फन्ड समूह ०.२६, व्यापार समूह ७५.५८ अंक र अन्य समूह २९.६६ अंकले बढेको छ ।
आजको कारोबारमा रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै रु २० करोड १७ लाख ६८ हजार बराबरको कारोबार भएको छ । कारोबार भएको शेयर संख्याका आधारमा न्यादी ग्रुप पावर कम्पनी लिमिटेड अगाडि छ ।
Add Comment