कुवेत जान लागेका ४७ नेपाली महिलाको भारतबाट उद्धार

नयाँ दिल्ली । भारतको बाटो हुँदै गैरकानुनी रुपमा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई भारत सरकारको सम्बन्धित निकायहरूसँगको सहकार्यमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उद्धार गरी नेपाल फर्काएको छ।

उक्त महिलाहरू साउदी एयरको उडानमार्फत् जुलाई २२ मा भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत जान बोर्डिङ पास लिँदै गर्दा अध्यागमन अधिकारीहरूले उनीहरूका साथ रहेको एनओसी शंकास्पद देखेपछि राजदूतावासलाई जानकारी गराएका थिए। त्यसपछि सबै एनओसी नक्कली रहेको पुष्टि भएपछि उनीहरूलाई तत्काल कुवेत जानबाट रोकिनुका साथै उडानमा चढ्न दिइएको थिएन।

यसअघि पनि सोही विमानस्थलबाट अर्को ४७ जनाको समूह नक्कली एनओसीसहित भेटिएपछि बोर्डिङ पास जारी नगरिई फर्काइएको थियो।

उद्धारपछि राजदूतावासका प्रतिनिधिहरू विमानस्थल पुगेर अध्यागमन अधिकारीहरूसँग समन्वय गरी नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको थियो। भारतको विदेश मन्त्रालयको सहजीकरणमा ती महिलाहरूलाई बसमार्फत् नेपाल पठाइएको हो। राजदूतावासका प्रतिनिधिको रोहवरमा सबैलाई थप अनुसन्धानका लागि आज रुपन्देहीस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।

राजदूतावासका अनुसार पछिल्लो समय मानव तस्करको झुटा प्रलोभनमा परी विदेशमा अलपत्र पर्ने नेपालीको संख्या बढ्दो छ। यसै सन्दर्भमा राजदूतावासले नेपाली नागरिकहरूलाई विदेश जानुअघि पासपोर्ट, भिसा, एनओसी लगायतका सबै कागजातको वैधता सुनिश्चित गर्न तथा सरकारद्वारा मान्यता प्राप्त संस्था वा व्यक्ति मार्फत् मात्र प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।