शिक्षकहरुको आन्दोलनले गर्दा ४ संसदीय समितिको बैठक अवरुद्ध

काठमाडौँमा आन्दोलनरत शिक्षकले सडक बन्द गर्दा मिनी संसद भनिने संसदीय समितिको बैठक अवरुद्ध भएको छ।

बिहीबार अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समिति, दिगो विकास तथा सुशासन समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बस्न सकेन।

यी समितिको बैठक बिहान ११ बजे सिंहदरबार समितिको कार्यालयमा बस्ने तय भएको थियो। तर बिहान १० बजेअघि नै माइतीघरदेखि नयाँ बानेश्वरसम्मको आठ लेनको सडक शिक्षकहरुको आन्दोलनले प्रभावित भएपछि सांसदहरु बैठकमा उपस्थित हुन सकेनन्।

आठ लेनको सडक अवरुद्ध हुँदा सवारीसधान अन्य रुट प्रयोग गर्न बाध्य भएपछि सडक जाम भएको थियो। जसले समयमै सांसदहरु समितिको बैठकमा उपस्थित हुन सकेनन्। सांसदहरु जाममा परेकाले बैठक बस्न नसकेको एक सांसदले बिएल नेपाली सेवालाई बताए।

संसदीय बैठक अवरुद्ध हुँदा आज ९बिहीबार० गर्ने भनिएको छलफल हुन सकेन। अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकको कार्यसूची समितिको आन्तरिक कार्यविधिको मस्यौदामाथि छलफल थियो।

यस्तै दिगो विकास तथा सुशासन समितिको कार्यसूचीमा सार्वजनिक सेवा प्रवाहको विषय, उद्योग तथा वाणिज्यको श्रम आप्रवासनका सवालहरु र कूटनीति नियोगका भूमिकाको बारेमा श्रममन्त्रीसँग जानकारी लिने र अर्थ समितिको कार्यसूचीमा समितिको कार्यविधिमाथि छलफल गर्ने तयारी थियो।

तर संसदमा दर्ता भएको शिक्षा विधेयककाविरुद्धमा सडक आन्दोलनमा आएका शिक्षकका कारण सांसदहरु जाममा पर्दा बैठक बस्न सकेन।

बिहान ९ बजे र १० बजेका लागि बोलाइएका दुई समितिको बैठक भने बसेको छ। बिहान ९ बजे राज्य व्यवस्था तथा सुशासन समिति र १० महिला तथा सामाजिक मामिला समितिको बैठक बोलाइएको थियो। यी दुई बैठक भने बसेका छन्।

ताजा अपडेट